चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भई रहेको विकास निर्माणको कार्यबारे उपप्रधान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनु भएको छ ।
मंगलबार भरतपुर महानगरपालिका सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले मन्त्री श्रेष्ठलाई भरतपुरमा निर्माणधिन संघीय आयोजनाामा भएका ढिला सुस्ती, अवरोध, जटिलता र भरतपुरमा आवश्यक पूर्वाधारको विषयमा ध्यानाकर्षण गराउनु भएको हो ।
मेयर दाहालले भरतपुरको बाईपास सडकखण्ड ७ वर्षसम्म पनि निर्माण हुन नसकेको, भरतपुरको रिङरोड निर्माण थप बजेटको आवश्यक परेको, क्रिकेट रंगशाला निर्माण अवरुद्ध बनेको लगायतको विषयमा ध्यानकार्षण गराउनु भएको थियो ।
मेयर दाहालले महानगरभित्रका केही दीर्घकालिन महत्वका सडक पूर्वाधारमा राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । नवलपरासी जोड्ने गरी गोलाघाट वा घोसरीमा बनाउने गरी छिटै प्रक्रिया थाल्नुपर्ने बताउनुभयो। उहाले भरतपुर–मेघौली गोलाघाट सडकको बाँकी सडक स्तरोन्नती गरेर सहायक राजमार्गका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । मेयर दाहालले नारायणीमा सिग्नेचर ब्रीज निर्माण प्रक्रिया सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो ।
मेयर दाहालले गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न संघीय सरकार तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । भरतपुर महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारीले यो वर्ष ६० किमि सडक कालोपत्रे गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
भरतपुरको विकास निर्माणबारे बोल्नु हुँदै नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भरतपुरको विकासमा भौतिक पूर्वाधार मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
यसैबीच मन्त्री श्रेष्ठ, भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल, मन्त्रालयका सचिव लगायतको टोलीले भरतपुरको ६ लेन सडक, बाईपास सडकको स्थलगत अनुगमन गरेको छ । सडक निर्माणका क्रममा देखिएको ढिलासुस्ती बारे मन्त्री श्रेष्ठले चासो राख्नु भएको थियो ।