चितवन। पुस २५ गतेदेखि नारायणी नदी किनारमा सञ्चालन भइरहेको १४औँ संस्करणको चितवन महोत्सव आज सोमबार शोक सभा गर्दै सुरु गरिएको छ । आइतबार भएको विमान दुर्घटनामा दुःख व्यक्त गर्दै सोमबार चितवन महोत्सव सर्वसाधारणको लागि खुला गरेसँगै औपचारिकरुपमा शोकसभा गरिएको थियो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले आइतबार पोखरामा भएको यति एयरलाइन्सको भयानक विमान दुर्घटनाले उद्योग व्यवसायीलाई स्तब्ध बनाएको बताए । अध्यक्ष श्रेष्ठले दुर्घटनामा परी दिवङ्गत हुने सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारहरुमा उद्योग वाणिज्य संघका तर्फबाट समवेदना व्यक्त गरेका थिए । शोकसभासँगै शोक पुस्तिका तयार पारेर सचिवालयमा राखिएको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार उक्त शोकसभामा उद्योग वाणिज्य संघ चितवनका कार्यसमितिका पदाधिकारी एवं सदस्य एवं उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम सुरु भएसँगै आधाघण्टा शोकधुन बजाएर आइतबारको घटनाप्रति दुःख व्यक्त गरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।