चितवन । चितवन मेडिकल कलेजले क्यान्सरको उपचार सेवा पनि शुरु गरेको छ । मेडिकल कलेजले क्यान्सर इन्स्टिच्यूट स्थापना गरी सरकारी अस्पताल सरहकै शुल्कमा उपचार शुरु गरेको हो । जसको बिधिवत उद्घाटन भने आगामी माघ १२ गते गरिने मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै, अस्पतालमा रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको उपचार हुने क्यान्सर रोग विभागका डा. सुवास ठाकुरले बताउनुभयो । अस्पतालमा ब्रेकिथेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध रहेको छ । यी सबै सेवाहरु नेपाल सरकारले तोकेको शुल्कमा गरिंदै आएको ठाकुरको भनाइ छ ।
अस्पतालमा ब्रेकिथेरापी अन्तर्गतका प्लानिङ, सिमुलेसन, एप्लिकेशन, ट्रिटमेन्ट काउन्सिलिङ लगायतका सेवाहरु हुने अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिनुभयो । यस्तै केमो थेरापी प्लानिङ थ्रिडि सिआरटि, सिमुलेसन, कनट्रियूरिङ हुने देवकोटाले जानकारी दिए । संघीय सरकारबाट एक लाख र प्रदेश सरकारले दिने ५० हजारको सुविधा पनि बिरामीले प्राप्त गर्ने प्रमुख कार्यकारी निर्देशक देवकोटाले बताउनुभयो । देवकोटाका अनुसार यी सबै सेवाहरु इन्स्टिच्यूटमा उपलब्ध रहेको छ ।
अस्पतालमा ब्रेकिथेरापी अन्तर्गतका प्लानिङ, सिमुलेसन, एप्लिकेशन, ट्रिटमेन्ट काउन्सिलिङ लगायतका सेवाहरु हुने अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिनुभयो ।
अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शैयाको क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको हो । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्रेकि थेरापीलगायतका सेवा रहेका छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको मेडिकल कलेजले जनाएको छ ।
मेडिकल कलेजमा टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि पनि ल्याएको छ । ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि मेडिकल कलेजमा छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ ।
अस्पतालमा भारत, अमेरिका र चीनमा काम क्यान्सर उपचारमा संलग्न विशेषज्ञ चिकित्सक रहेका छन् । रेडियसनसँगै बे्रकि थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक उपकरण ल्याईसकिएको छ ।