काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको व्यवस्थाअनुसार नयाँ बानेश्वरको संसद भवनमा बस्ने आजको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संसदमा नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसदको समर्थन रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग सोमबार साँझ देउवा निवासमा भेटी छलफल गरेका थिए । त्यस्तै, उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) सँग पनि विश्वासको मतका लागि आग्रह गरेका छन् । सो दलले आज बैठक बसी विश्वासको मत दिने नदिनेबारे निर्णय लिने जनाएको छ ।
अध्यक्ष प्रचण्डलाई सात दल स्वतन्त्र गरी १६९ सांसदको समर्थन रहेको छ । त्यसमा एकीकृत समाजवादीको मत थपिन सक्ने सम्भावना रहेको छ । प्रधानमन्त्री प्रचण्डले सहजै विश्वासको मत पाउने एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबारको संसद बैठकमा विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।