चितवन । भरतपुर–२७ मा १० वर्षदेखि अलपत्र परेको बेतरी खेलाको पुल निर्माण हुने भएको छ । मेयर रेनु दाहालले आज सोमबार पुलको शिलन्यास गरेकी छन् । पुल निर्माणपछि धरमपुर, बुद्धनगरका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । बाढीले भत्काएको पुल नबन्दा स्थानीय वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । ३ करोड ३४ लाख १३ हजार लागतमा पुल निर्माण हुन लागेको हो ।
मेयर दाहालले यसपटक सानाठुला ५० वटा पुलहरु बन्ने जानकारी दिइन् । “संघ र प्रदेश सरकारसँग थप पुलहरु निर्माण गर्न पहल भैरहेको छ”, उनले भनिन्, “२० वटा ५० मिटर लामा ठुला पुलहरु बन्नेछन् , अन्य पुलहरुको पनि सर्भे भैरहेको छ ।” मेयर दाहालले प्रचण्ड मार्ग अन्तर्गतको बेतरी खोला आसपासको सडक कालोपत्रे लगायतका रोकिन पुगेका कामलाई छिटै सुचारु गराउन पहल गर्ने बताइन् ।
“मंगलपुरदेखि तेलौलीसम्म २२ किमिको प्रचण्ड मार्गलाई सौन्दर्यीकरण गर्ने काम पनि सुरु गरेका छौँ”, उनले भनिन्, “काम ढिलो गर्ने निर्माण व्यवसायीलाई ताकेता गरिदिएका छौँ । ” मेयर दाहालले पश्चिम चितवनको मुख्य सडकका रुपमा अगाडी बढेको प्रचण्ड मार्गलाई छिटै पूर्णता दिइने बताइन् ।
सडक जगतपुर–कसारचोक–शुक्रनगर–तेलौली हुदै वडा नम्बर २६ को भगडीसम्म विस्तार हुनेछ । पुल शिलन्यास कार्यक्रममा स्थानीयले पञ्चैबाजा बजाएर मेयर दाहाललाई स्वागत गरेका थिए । जिएमआर कन्स्ट्रक्सन नेपाल प्रालिले २ वर्षमा निर्माण सक्ने गरी बेतरी खोला पुल बनाउनेछ ।
बेतरी खोलाको पुल २० मिटर लामो हुनेछ । यो पुल २ लेनको हुनेछ । स्थानीय लक्ष्मी पौडेलले १० वर्षसम्म भाँचिएको पुल हेर्दै खोला तर्नुपर्ने बाध्यता हट्न लागेकोमा खुशी व्यक्त गरिन् । स्थानीय राधाकृष्ण भुषालले पुल शिलन्यासले प्रचण्ड मार्गसँग जोडिने आशा बढेको बताए । स्थानीय टिकाश्री थापा मगरले मेयर दाहालले जनताका दुःखलाई बेलैमा सम्बोधन गरेको बताए ।