चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १४औँ चितवन महोत्सव सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका उद्योग मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् । यसअघि महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने तय भएको थियो । मौसम प्रतिकुलता कारण समयमै जहाज उड्न नसक्दा अर्थमन्त्री पौडेल आउन पाएनन् ।
महोत्सवको उद्घाटन गर्दै प्रदेश उद्योग मन्त्री श्रेष्ठले आर्थिक उन्नतीको लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सरकारले अनलाइनबाटै उद्योग दर्ता र खारेजी गर्न सकिने प्रविधि ल्याएको भन्दै उनले सानादेखि ठूला सबै उद्योगीको सरकारले सम्मान गर्ने बताए ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महोत्सवले यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरिन् । आफ्नो यो कार्यकाल नै अन्तिम कार्यकाल भएको भन्दै उनले कसैलाई भेदभाव नगरी विकास निर्माण गर्ने बताइन् । अवैध संरचना भत्काउने क्रममा पनि कसैलाई जवरजस्ती नगरिने उनले आश्वासन दिइन् ।
महोत्सव उद्घाटन कार्यक्रममा बोल्ने व्यवसायीले भने बैंकले व्याजले उद्योगी व्यवसायी थला परेको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योग व्यवसाय सञ्चालनमा जटिलता थपिँदै गएको बताए । आत्मनिर्भर भइसकेको र अर्बौँ लगानी रहेको पोल्ट्री व्यवसाय नै धरापमा परेको भन्दै उनले सरकारको नीतिगत स्थिरता नहुँदा समस्या सिर्जना भएको बताए ।
महोत्सवमा ४५० वटा स्टल रहेको छ । माघ ४ गतेसम्म चल्ने महोत्सवमा २५ करोड रुपैयाँको कारोबार हुने र पाँच लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । महोत्सवमा कृषि र मेड इन नेपाल एक्स्पो आकर्षणका रुपमा रहेका छन् ।