काठमाडौँ। सात दलीय सत्ता गठबन्धनले सातवटै प्रदेशमा मुख्यमन्त्री र सभामुखबारे भागबण्डा मिलाएको छ। आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा कसले कुन पद पाउने भन्ने टुंगो लगाएको हो।
सहमति अनुसार माओवादीले बागमती प्रदेश र कर्णाली प्रदेशको मुख्यमन्त्री पाएको छ। बागमतीमा पहिलो कार्यकाल र कर्णालीमा ५ वर्ष सरकार चलाउने भएको हो।
‘बागमतीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएछ, पहिलो कार्यकाल म मुख्यमन्त्री हुनेछु’ नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलल्ले नेपालखबरसँग भने।
स्रोतका अनुसार नेकपा एमालेले प्रदेश १, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पाउने भएको छ। प्रदेश १ मा आजै एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनिसकेका छन्।
यस्तै, कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने छ।
मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आलोपालो दिने सहमति भएको छ।
बाग्मती र सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेले पालैपालो पाउने छन्।
यस्तै, सभामुखबारे पनि गठबन्धन दलले भागबण्डा मिलाएका छन्।
आइतबार भएको निर्णयअनुसार मधेश र कर्णाली प्रदेशमा एमालेले सभामुख लिने भएको छ।
यस्तै, प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीको भागमा परेको छ।
बाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिने सहमति भएको छ।
बागमतीमा निर्णायक रहेको राप्रपाले मुख्यमन्त्री दाबी गर्दै आएको थियो।
यस्तै, प्रदेश १ र गण्डकीमा एमालेको तर्फबाट उपसभामुख बन्नेछन् भने बागमती र कर्णालीमा माओवादी तथा लुम्बिनीमा राप्रपाले उपसभामुख पाउनेछन्।
मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई उपसभामुख दिने निर्णय गरिएको छ।