चितवन । खैरहनी नगरपालिकामा निर्माण गरिएको शीतभण्डार सञ्चालनका लागि स्थापना गरिएको विशिष्टीकृत सहकारी संघ लिमिटेड नगरप्रमुख शशिकुमार खनियाँको गैह्र जिम्मेवारीपनका कारण विघटन हुने भएको छ ।
शीतभण्डार सञ्चालनका लागि बागमती प्रदेशले पछिल्लोपटक बनाएको कार्यविधि र खैरहनी नगरप्रमुख शशिकुमार खनियाँका कारण संघ सञ्चालन गर्न नसक्ने भन्दै शनिबार सम्पन्न संघको दोस्रो साधारण सभाले सहकारी संघ विघटन गर्ने निर्णय गरेको हो ।
साधारण सभाले संघ विघटनसँगै प्यान नम्बर बन्द गर्ने, धरौटी रकम फिर्ता माग्ने, लागत साझेदारी रकम फिर्ता माग्ने र शेयर रकम तथा प्रवेश शुल्क सम्बन्धित सहकारीलाई फिर्ता गर्ने निर्णय गरेको सहकारीका अध्यक्ष गीतानाथ अर्यालले जानकारी दिए ।
बागमती प्रदेश, खैरहनी नगरपालिका र सहकारी संघ मिलेर शीतभण्डार सञ्चालन गर्नका लागि २०७७ साल चैत ३१ गते खैरहनी शीतभण्डार विशिष्टीकृत सहकारी स्थापना गरिएको थियो । सो संघमा नगरभित्रका ३२ वटा सहकारी आवद्ध छन् ।
खैरहनीका निवर्तमान मेयर लालमणि चौधरीको पहलमा खैरहनीमा शीतभण्डार आवश्यक रहेको भन्दै प्रदेश सरकारसँग समन्वय गरेर शीतभण्डार निर्माण गरिएको थियो । तत्कालीन अवस्थामा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बनाएको कार्यविधिमा सहकारीलाई नै अगाडि बढाउने गरी सञ्चालनको जिम्मा दिने उल्लेख थियो । तर, पछिल्लोपटक प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नगरउपप्रमुखको संयोजकत्वमा शीतभण्डार सञ्चालन गर्ने गरी २०७८ मा कार्यविधि जारी गरेको थियो ।
पछिल्लो कार्यविधिअनुसार नै शीतभण्डार सञ्चालन गर्ने नगरप्रमुख शशिकुमार खनियाँले अडानपछि संघ राखिरहनुको औचित्य नभएकाले साधारण सभाले विघटन गर्ने निर्णय गरेको अध्यक्ष अर्यालले बताए ।
पूर्व नगरप्रमुखले शीतभण्डार निर्माण तथा सञ्चालन कार्यविधि २०७५ लाई नै टेकेर सञ्चालनको जिम्मा दिने बताएका थिए । तर, वर्तमान नगरप्रमुखले पछिल्लो पछिल्लो कार्यविधिलाई नै पछ्याउने बताएपछि संघ र नगरप्रमुखबीच असमझदारी बढेको थियो । सोही असमझदारीकै कारण संघको साधारण सभाले संघ विघटन गर्ने निर्णय गरेको हो ।
साझेदारीमा सञ्चालनका लागि संघमा आवद्ध ३२ वटा सहकारीबाट एक करोड ४ लाख १० हजार संकलन गरिएको थियो । सो रकममध्ये ४ लाख रुपैयाँ धरौटी तथा सञ्चालनका लागि किस्ता बुझाउन नगरपालिकामा जम्मा गरिएको छ । त्यसबाहेक ७१ लाखको सम्पत्तिमा संघको १५ प्रतिशत लागत साझेदारी रहेको छ ।
कुल १२ करोड ९६ लाख लागतमा शीतभण्डार निर्माण गरिएको छ । तर, प्रदेशले अझैसम्म रकम हस्तान्तरण गरेको छैन । प्रदेश सरकारले गर्नुपर्ने काम सम्पन्न नभएकाले हस्तान्तरणमा ढिलाइ भएको हो । निर्माण गरिएको शीतभण्डार ठेकेदार पक्षको लापर्बाहीका कारण पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको र मर्मत गरेर हस्तान्तरण गर्ने जनाइएको छ ।