चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एकै दिनमा ४ वटा ठुला डिपट्युबवेल सिँचाई प्रणालीको उद्घाटन गर्नुभएको छ । शुक्रबार भरतपुर–२३ स्थित विभिन्न स्थानमा निर्माण सम्पन्न भएका ४ वटा डिप बोरिङको उद्घाटन गर्नु भएको हो ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार ४ वटा डिप बोरिङ रु ३ करोड ४७ लाख ३१ हजार आठ सय पैसठी रुपैयाँ लागतमा निर्माण भएको हो ।
डिप बोरिङहरु पूर्ण रुपमा सञ्चालनमा आएसँगै भरतपुर २३ का १ सय २० विघामा आकाशे पानीको भर पर्नुपर्ने अवस्था हटेको छ । प्राविधिका अनुसार एक डिप बोरिङले ४० देखि ६० विघा क्षेत्रफल जग्गालाई प्रयाप्त रुपमा सिँचाई गर्न पुग्छ । उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले सिँचाईको अभाव भएको स्थानमा महानगरपालिकाले सिँचाईका योजना अगाडि बढाएको बताउनुभयो ।
कृषिको प्रचुर सम्भावना रहेको पश्चिम चितवनलाई पुग्ने गरि सिँचाइको दियो अभियान अन्तगर्त नारायणी लिफ्ट सिँचाईको मर्मत गर्ने काम भैरहेको बताउनुभयो । उहाँका अनुसार अहिले अल्पकालिन रुपमा डिप ट्यूब वेल निर्माणको कार्य अगाडि बढाईएको हो । निर्माण समपन्न भएपछि आगामी दिनमा भरतपुर महानगरपालिकामा सिँचाईको अभाव नहुने दाहालको दाबी छ ।
आफ्नो पाँच बर्षे कार्यकालमा ५६२ वटा ट्यूबेल निर्माण भएको बताउनुभयो । कृषि उत्पादनलाई वृद्धि गर्न सुख्खाग्रस्त क्षेत्रमा भूमिगत सिँचाईमार्फत १२ महिना नै सिँचाईको प्रबन्ध मिलाउने गरी महानगरका २९ वटा वडामा बोरिङका कार्यक्रमहरु सञ्चालन भईरहेको प्रमुख दाहाललको भनाई छ ।
चितवन भूमिगत सिँचाई आयोजनामार्फत भरतपुरमा ३० वटा डिप बोरिङ र २ सय शयालो ट्युबवेल निर्माण भइसकेको आयोजनाका प्रमुख स्याङबोले जानकारी दिनुभयो ।
सिँचाईको व्यवस्था भएसँगै कृषकहरु खुसी भएका छन् । भरपतुर २३ का स्थानीय ईश्वर प्रसाद सापकोटाले १२ महिना सिँचाई हुने भएपछि तोरीको उत्पादन बढेर जाने बताउनु हुन्छ । धेरै वर्षदेखि सिँचाईको अभावमा एक बाली मात्रै लगाउनुपर्ने बाध्यता रहेको भन्दै उहाँले डिप बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनका साथै बेमौसमी खेती लगाउन सकिने उल्लेख गर्नुभयो ।
भरतपुर २३ का अर्का कृषक नन्दलाल चौधरीले डिप बोरिङले तेब्बर उत्पादन वृद्धि हुने अपेक्षा लिएको बताउनुभयो । चौधरीले सधै १० मुरी धान आउने खेतमा अब भने ३० मुरी फल्नेमा आफु पूर्ण रुपमा आशावादी रहेको सुनाउनुभयो ।