चितवन । मृतकको हातबाट सुनको ब्रासलेट चोर्ने भरतपुर अस्पतालका गार्डलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ घर भई हाल चितवन भरतपुर महानगरपालिका–७ बस्ने २७ वर्षीय कृष्ण राई रहेका छन् ।
उनले सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको हातबाट ब्रासलेट चोरी गरेर भागेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने भरतपुर–२९ केराबारीमा पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमति प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तनहुँ भानु नगरपालिका–२ घर भई भरतपुर–१ बस्ने बर्ष ३७ को सञ्जिव बहादुर रायमाझीको मृत्यु भएको थियो । रायमाझीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मृतकको लास अस्पतालकै आकस्मिक कक्ष नजिक रहेको पुनरुत्थान कोठामा राखिएकोमा अस्पतालका गार्ड राईले मृतकले हातमा लगाएको सुनको ब्रासलेट चोरी गरेका थिए । चोरीको घटनाको अनुसन्धानका क्रममा राईलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान गर्ने काम भइरहेको चितवन प्रहरीले जनाएको छ ।