चितवन । आज राष्ट्रिय पोल्ट्री दिवस । व्यवसायीले यो दिवस मनाउन लागेको १० बर्ष भयो । अघिल्ला बर्षहरुमा उल्लासका साथ पोल्ट्री दिवस मनाउने गरिएकोमा यसबर्ष भने व्यवसायीहरु निराश र आन्दोलित भएका छन् । २०७० सालको पौष १७ गतेदेखि सरकारको समेत सहभागितामा यो दिवस मनाउदै आइएको छ ।
देशमै एकमात्र आत्मनिर्भर भएको भनिएको व्यवसाय दानाको कच्चा पदार्थमा भएको मूल्यबृद्धि, बैकले बृद्धि गरेको उच्च ब्याजदर, लागत अनुसारको बजार मूल्य नपाउँदा र भारतीय उत्पादन निर्वाध रुपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको व्यवसायीहरु बताउछन् । नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्बभन्दा बढी लगानी भईसकेको छ ।
जसमध्ये आधाभन्दा बढी बैंकको ऋण छ । लागत मूल्यमा उत्पादित वस्तु बिक्री गर्न नसकेपछि झण्डै दुई वर्ष यता व्यवसायीले एकोहोरो नोक्सान व्यहोर्दै आएको र अव केही महिना मात्रै यही अवस्था रहे सबै उद्योग पूर्णरुपमा बन्द हुने चेतावनी व्यवसायीहरुलेदिदै आएका छन् ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले कुखुराजन्य उत्पादन सबैमा व्यवसायीनोक्सानमा रहेको बताउनुभयो । दैनिक घाटा व्यहोरिरहेको बताउँदै उहाँले बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको भन्दै खोरमा राखिएका कुखुरा बचाउन समेत मुस्किल परेको बताउनुभयो ।नेपालमा ३८४ ह्याचरी उद्योगमध्ये अहिले २०० मात्रै सञ्चालनमा रहेको र ती पनि पूर्ण सञ्चालन हुन नसकेको व्यवसायी बताउछन् ।
महासंघका उपाध्यक्ष एवं ह्याचरी उद्योग संघका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार ब्रोईलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) अधिकांश विदेशबाट आउने गर्दछ । कोभिड पूर्व मासिक एक लाख ५० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकोमा गएको वैशाख यताको सरदर मासिक ६० हजार मात्रै आउने गरेको उहाँले जानकारी दिनुभयो । ब्रोईलर (मासु खाने कुखुरा)को देशभरमा २५ हजार फार्म रहेकोमा आधाभन्दा बढी बन्द छन् ।
कुखुरा पाल्नका लागि आर्थिक अभावमा कृषकले कुखुरा पाल्न सक्ने अवस्था छैन । नेपालमा दुई हजार पाँच सय लेयर्स (अण्डा उत्पादन गर्ने) फार्म रहेकोमा ७० प्रतिशत हाराहारी बन्द भईसकेका छन् । ३० हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्मको संख्या ५० हाराहारी छ । जसले ७५ प्रतिशत अण्डा उत्पादन गर्दछ । पोल्ट्री व्यवसाय चरम संकटमा पुगेपछि केही महिना अघि ठूला लेयर्स फार्मका सञ्चालकहरु संगठित भएर नेपाल लेयर्स कुखुरा पालक संघ गठन गरेका छन् ।
संघका अध्यक्ष बिनोद पोखरेलले अवस्था सुधार नभएमा आगामी वर्षसम्म पुग्न पनि नसकिने बताउनुभयो । यसैविच बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले प्रदेश सरकारले पोल्ट्री बोर्ड नै गठन गरेर सम्बोधन गर्ने तयारी गरेको बताउनुभयो । बोर्ड गठनका लागि अध्यादेश ल्याएर प्रदेश प्रमुखसम्म पुगेको तर प्रमाणिकरण नभएको उहाँले जानकारी दिनुभयो । मानव स्वास्थ्यका लागि अण्डा र मासु महत्वपूर्ण रहेको पोषणबिदहरुले बताउछन् । सहज पहुच र सस्तो भएको कारण पनि कुखुराजन्य बस्तुको उपभोग राम्रै थियो । तर नेपाली नेपाली उत्पादन बन्द हुदै गर्दा आयत हुने कुखुराजन्य बस्तु स्वस्थकर नहुनुका साथै अर्वौ रकम समेत बाहिरिने हुदा नेपालको एकमात्र आत्मनिर्भर व्यवसाय जोगाउन सरकारको गम्भीर ध्यान पुग्न जरुरी देखिन्छ ।