चितवन । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन्। थपलिया सर्वसम्मत रुपमा दलकौ नेता चयन भएका हुन। नेकपा एमालेको केन्द्रीय सदस्य रहेका थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत थिए।
थपलिया चितवन निर्वाचन क्षेत्र नम्बर १ प्रदेश १ बाट निर्वाचित भएका थिए। बागमती प्रदेशमा उनी भन्दा सिनियर नेता नभएपछि दलको नेता मात्रै नभई मुख्यमन्त्रीका लागि बाटो खुलेको हो। संसदीय दलको नेता मुख्यमन्त्री हुने प्रावधान छ। नयाँ सरकार गठनपछि केन्द्रदेखी प्रदेशसम्म सत्ता समीकरण फेरिदै छ।
बागमतीमा नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१ र राप्रपाको १३ सिट छ। यहाँ सरकार बनाउन ५६ सिट आवश्यक पर्छ। केन्द्रमा जस्तै प्रदेशमा पनि यि तीन दलको समर्थन मिले एमालेबाट निर्वाचित साँसद थपलिया मुख्यमन्त्री बन्ने छन्। तर बागमती प्रदेशमा नेकपा माओवादीले पनि दावी गर्दै आएको छ।
माओवादी केन्द्रबाट शालिकराम जमरकट्टेल मुख्यमन्त्रीका दाबेदार हुन्। केन्द्रमा एमालेले ४ वटा प्रदेश, माओवादीले २ र मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो सरकार संचालन गर्ने करिब सहमती गरेका छन्। माओवादी केन्द्रले लुम्बिनी र सुदुर पश्चिम् प्रदेश पाउने संभावना छ।