विराटनगर। भोजपुरमा श्रीमतीको हत्यागरि एक व्यक्तिले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार भोजपुरको षडानन्द नगरपालिका ९ तालखर्कका ४० वर्षीय बुद्धिमान राई श्रीमतीको हत्यापछि रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
घरमा झगडा भएपछि शनिबार बिहान करिब १ बजे बुद्धिमानले २८ वर्षीया ईन्द्रकला राईलाई धारिलो हतियारले प्रहार गरेको ईलाक प्रहरी कार्यालय साङपाङले जनाएको छ।
मध्यरातमा बुद्धिमानले श्रीमतीलाई हतियारले ढाडमा प्रहार गरि आफू घरनजिकैको दुधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ ।
आमालाई हतियारले प्रहार गरेको देखेपछि उनका ८ वर्षीय छोराले छिमेकीसँग हार गुहार गरेका थिए। घटनापछि स्थानीय पुग्दा श्रीमती ईन्द्रकलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयले बुद्धिमानलाई खोजी गर्ने क्रममा रुखमा झुण्डिएको अवस्थामा फेला परेको जनाएका छन्। घटनाबारे ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट खटिएको प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको छ।