काठमाडौँ। गृहमन्त्री भएपछि रवि लामिछानेले पहिलो निर्णयका रुपमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने भएका छन्।
सिंहदरबारस्थित गृहमन्त्रालयमा सोमबार साँझ शपथग्रहण गर्दै निर्मलाको न्यायका लागि थप पहल गर्ने पहिलो निर्णय उनले गरेका हुन्।
‘निर्मला पन्तको केस के भइरहेको छ ? त्यसमा न्यायका लागि अधिकतम् पहल गरौँ’, उनले गृहसचिव विनोद सिंहलाई निर्देशन दिँदै भने, ‘मेरो पहिलो निर्णय नै निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने भन्ने भएको छ।’
रविले सञ्चारकर्मी भएका बेला निर्मलाको मुद्दा कञ्चनपुरको उल्टाखाम पुगेर पनि उठाएका थिए। तर यो प्रकरण गिजोलिन पुग्दा अहिलेसम्म उक्त बलात्कार र हत्याकाण्डका दोषी पक्राउ परेका छैनन्।
नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुन्न
यसैबीच गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे ।
अपराध अनुसन्धान महाशाखले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका छन् ।
‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन,’ पदभार ग्रहण गर्दै उनले भने ।