काठमाडाैं । आज गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यी प्रदेशको पहाडी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढी पर्ने विभागको भनाइ छ ।
आज उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको र अधिकांश ठाउँको तापक्रम क्रमिक रुपले घटिरहेकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
विभागका अनुसार आज दिउँसो मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली हुन सक्नेछ । बाँकी भूभागमा मौसम सफा रहने छ । त्यस्तै, भोलि मंगलबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुने विभागले जनाएको छ ।
सोहीअनुसार पुस १३ गते बुधबार पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । हिमाली भूभागमा हल्का हिमपात हुनेछ । विभागका अनुसार तराईका जिल्लामा विहानीपख बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले चिसोबाट जोगिन विशेष सतर्कता अपनाउन विभागले सर्वसाधारणमा आग्रह गरेको छ ।