चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल दोस्रो कार्यकालको लागि प्रमुखमा निर्वाचित भएसँगै गर्नु भएको दुईवटा निर्णय कार्यान्वनमा आएको छ ।
पदबाहालीका क्रममा मेयर दाहालले भरतपुरमा जन्मिएका छोरीलाई रु १ लाखको जीवन बीमा गर्ने र ७ हजार लिटरसम्म निःशुल्क पानी उपलब्ध गराउने निर्णय गर्नुभएको थियो । निःशुल्क पानी उपलब्ध गराउने निर्णय मंसिरदेखि कार्यान्वनमा आएको छ भने छोरी बीमा कार्यक्रम शुक्रबार अर्थात् पुस ८ गतेदेखि कार्यान्वनमा आएको छ । यी दुई निर्णय कार्यान्वनमा आएसँगै महानगरपालिका प्रमुख रेनु दाहालले खुसी व्यक्त गर्नुभएको छ ।
भरतपुर सभाहलमा शुक्रबार बीमा गरिएका ७२ जनालाई बीमा लेख हस्तान्तरण गरिएको छ । भरतपुरको सरकारी अस्पतालमा जन्मिने यहाँका स्थायीबासीले आवश्यक कागजातसहित वडामा सम्पर्क गरी यो सेवा लिन पाउने छन् ।
पहिलो कार्यकालमा उहाँले भरतपुर अस्पतालमा महिलाहरुको लागि निःशूल्क ओपिडी टिकटको व्यवस्था गर्ने निर्णय गर्नु भएको थियो ।
मेयर दाहालले महिलाहरुले अवसर पाए हरेक क्षेत्रमा पुरुष सरह नै काम गर्न सक्ने धेरै उदाहरणहरु प्रस्तुत भइसकेकाले महिलाहरुको पक्षमा दुई वटै कार्यकालमा महिलालाई केन्द्रित गरी निर्णय गरेको बताउनुभयो ।