चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले विदेशमा रहेका नेपाली नागरिकलाई राम्रो जागिर दिएर स्वदेशमै फर्काउने योजनाको सुरुवात गरेका छन् । उनले शुक्रबार चितवन कार्यालयको लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेका छन् ।
विदेशमा रहेका व्यवस्थापनमा दखल राख्ने नेपालीलाई लक्षित गर्दै लामिछानेले सिईओ माग गरेका हुन् । लामिछानेले आज (शुक्रबार) फेसबुकमा एक स्टाटस राख्दै विकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने इच्छुक नेपालीले आवेदन दिन सक्ने बताए ।
रविको स्टाटसमा यसो भनिएको छ, ‘नो भिसा, फ्रि टिकट । यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, देशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। कति बाकसमा मात्र फर्किने ? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त ? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो सिभि मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु।