चितवन । खैरहनी नगरपालिका–२ स्थित लदरी खोला किनारमा ‘बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सव २०७९’ हुने भएको छ । माघ ४ देखि माघ १५ गतेसम्म हुने उक्त महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र उद्योग वाणिज्य संघ खैरहनीको संयुक्त प्रयासमा आयोजना हुन लागेको हो ।
उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठका अनुसार महोत्सवमा उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुका गरि ३५० वटा स्टल रहनेछन् ।
करिब एक करोड २० लाखको लगानीमा सञ्चालन हुन लागेको उक्त महोत्सवको कारोबार करिब ७० करोड हुने अनुमान गरिएको श्रेष्ठले जानकारी दिए । महोत्सव अवधिभर करिव ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने उद्योग वाणिज्य संघको अनुमान छ ।
महोत्सवको मूख्य आर्कषणको रुपमा भने कृषि रहने श्रेष्ठले जानकारी दिए । ‘हामीले १३ वटा जिल्लाका उत्पादनहरु खैरहनी महोत्सवमा पाउँछौ,’ उनले भने, ‘सिन्धुलीको जुनार, सिन्धुपाल्चोकको किवी जस्तै हरेक क्षेत्रको व्यवसायिक उत्पादनलाई ल्याएर टेवा पुर्याउँछौ ।’ दुग्धविकास संस्थानले उत्पादन गरेका मिठाईहरु पनि स्टलमा प्रमुख आर्कषणको रुपमा रहने उनले बताए ।
महोत्सवमा युवाहरुको लागि सेल्फी जोन, अम्ब्रेला स्ट्रिटदेखि बालबालिकालाई मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिने श्रेष्ठले बताए ।
त्यस्तै महोत्सवमा उत्पादित बस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिष्पर्धाको विकास गर्ने, उद्योगीहरुबीच समस्या, अवसर र चुनौतिबारे अन्तरक्रिया गर्ने, कृषकहरुलाई कृषि उपजको विषयमा जानकारी प्रदान गर्ने, देशमै रोजगारीको अवसर र सम्भावनाको विषयमा सूचित गराउने र विद्यार्थीहरुबीच प्रतियोगितात्मक कार्यक्रम गरी प्रतिभा प्रष्फुटन गराउने महोत्सवको मूख्य उद्धेश्य रहेको श्रेष्ठको भनाई छ ।
आम्दानीको मूख्यस्रोत टिकट, ब्यानर, विज्ञापन, स्टल, प्रायोजक, सहप्रायोजक र कृषि, पर्यटन, संस्कृति मन्त्रालय लगायतका विभिन्न क्षेत्र मानिएको छ । स्टलको शुल्क भने ९ देखि ३० हजार सम्ममा वर्गिकरण गरिएको छ ।
खैरहनी उद्योग वाणिज्य संघको सदस्यलाई स्टल शुल्कमा १० प्रतिशत र अन्य उद्योग वाणिज्य संघमा आवद्ध सदस्यलाई भने पाँच प्रतिशत छुट गरिने श्रेष्ठले बताए । महोत्सवको प्रवेश शुल्क ५० रुपैयाँ रहेको छ । विद्यार्थीको हकमा ३० रुपैयाँ र जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश गर्न दिइने उनको भनाई छ ।