चितवन । नारायणगढ–मुग्लिन सडक भोलिदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन चार पुलको कामलाई तीव्रता दिन एक महिनासम्म दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो ।
पहाड काटेर सिमलताल पुल, कालीखोला पुल, तुईन खोला पुल र चिसेन्जी खोला पुल निर्माण गर्नुपर्ने भएकाले यात्रुको सुरक्षाका लागि बाटो बन्द गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । माघ ५ गतेसम्म दैनिक चार घण्टा सडक बन्द हुने छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबहाक गाडी (बस, मिनिबस, माइक्रो बस, साना सवारी साधन)लाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ । मालबहाक गाडी (ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्यांकर, भारी सवारी)लाई भतेरी जंगलदेखि रामनगरसम्म रोकिने उनले बताए । त्यस्तै, मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुबहाक गाडीलाई दुई स्थानमा रोकिने छ ।
काठमाडौँबाट आएका गाडीलाई मुग्लिन बजारदेखि मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आएका गाडीलाई बेनीटारदेखि पावरहाउसम्म रोकिने छ । काठमाडौँतर्फबाट आएका मालबाहक गाडीलाई लेवाटारमा र पोखरातर्फबाट आएका गाडीलाई आँबुखैरहनीमा रोकिने छ ।