चितवन । कालिका नगरपालिका वडा नं ९ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय लटौलीलाई रोटरी क्लब अफ रत्ननगरले करिब ७ लाख ५० हजार मुल्य बराबरको ३ कट्ठा जग्गा प्रदान गरेको छ ।
सीमान्तकृत चेपाङ समुदायका बालवालिका अध्यायन गर्ने सो विद्यालयलाई भवन निर्माणको लागि जग्गा अभाव भएपछि रोटरी क्लवले जग्गा हस्तान्तरण गरेको हो ।
क्लवका अध्यक्ष रामहरि लम्सालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष निलकण्ठ मगरलाई जग्गाको स्वामित्व हस्तान्तरण गरेको कार्यक्रम संयोजक तथा रोटरी क्लवका निर्वतमान अध्यक्ष निराजन खनालले जानकारी दिए ।
रोटरी क्लव अफ रत्ननगरले सो विद्यालयलाई विगत १५ बर्ष देखि निरन्तर सहयोग गर्दै आएको छ । सो विद्यालयका ८४ जना विद्यार्थीहरुलाई स्टेशनरी सहित स्कुल पोसाक, चप्पल, जुत्ता, तथा ३० घर परिवारलाई म्याट्रेस बितरण गरिएको क्लबका सचिव लक्ष्मीलाल श्रेष्ठले जानकारी दिए ।
९० प्रतिशत चेपाङ समुदायका बालवालिका अध्यायन गर्ने सो विद्यालयमा रोटरी क्लव अफ रत्ननगरले दिवा खाजा कार्यक्रमबाट सहयोग गर्न सुरु गरेको क्लवका अध्यक्ष लम्सालले बताए । नेपाल सरकारले दिवा खाजा सुरु गरेपछि रोटरीले प्रत्येक बर्ष स्टेशरी र पोसाक सहयोग गर्दै आएको छ । सो विद्यालयमा कक्षा कठा अभाव रहेको छ । भवन निर्माणको लागि सरकारले बजेट हालेको भएपनि जग्गाको अभावका कारण निर्माण कार्य सुरु हुन सकेको थिएन ।
रोटरीले विद्यालयसंगै जोडिएको तीन कठ्ठा जग्गा खरिद गरी विद्यालयलाई हस्तान्तरण गरेको अध्यक्ष लम्सालले बताए । रोटरी क्लवका असिस्टेण्ट गभर्नर अशेष भण्डारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा डिस्ट्रिक्ट एडिसनल सेक्रेटरी निरञ्जन प्रधान, विद्यालयका प्राचार्य बुद्धिराज गिरी, एक्सपर्ट एजुकेसनका सञ्चालक डिल्लीराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।