चितवन । चितवनमा ध्रुवेको आक्रमणबाट हिजो शनिबार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीकी ७८ वर्षीय भागिरथी सुवेदीको मृत्यु भएको छ ।
घरको आगनमा आगो तापिरहेको अवस्थामा शनिबार राती करिब साढे ८ बजेको समयमा ध्रुवेले एक्कासी आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा राती करिब १०ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई जंगली ध्रुवे हात्तीले आक्रमण गरेको हो । ध्रुवेको पछाडि प्राविधिक टिम खटिएपनि शनिबार अप्रिय घटना हुन पुगेको उनले बताए ।
केहि दिनअघि निकुञ्जको ध्रुव पोष्ट नजिक ध्रुवे हात्तीले मोटरसाइकलमाथि आक्रमण गरेको थियो । मोटरसाइकल चालक भागेर बाँच्न सफल भएपछि मोटरसाइकलमा भने क्षति पुगेको थियो ।