चितवन। भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा सम्बन्धी व्यापक जनगुनासो बढेपछि बागमती प्रदेश सांसद उत्तम जोशी अस्पताल पुगेका छन् ।
जोशीले आज (बिहीबार) अस्पतालले दिने सेवाको निरीक्षण गरेका छन् । भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले र वडा सदस्यहरु, कांग्रेस भरतपुर ७ का वडा सभापति बिनोद ढकालसहित जोशी अस्पताल पुगेका थिए ।
अस्पताल पुगेपछि बिरामीहरुले जोशीसँग व्यापक गुनासो राखेका थिए । बिरामी र बिरामीका आफन्तहरुले शल्यक्रियाका लागि अस्पतालले महिनौंसम्म झुलाउने गरेको गुनासो गरेका थिए । बिरामीहरुलाई बोलाएर समयमै शल्यक्रिया नगर्ने र यसले स्वास्थ्य जटिलताका साथै आर्थिक रुपमा पनि भार थपिने अधिकांशको गुनासो थियो ।
अस्पतालको प्रशासन शाखा, प्रयोगशालालगायत सबै वार्डमा समयमा काम नहुने भन्दै बिरामीका आफन्तहरुले गुनासो गरे । प्रयोगशालाले एक-दुई दिनमा आउने रिपोर्टका लागि हप्ता दिनसम्म लगाउने गरेको भन्दै उनीहरुले सांसद जोशीसँग गुनासो पोखे ।
अस्पतालमा भर्ना भएका रामनारायण साहुले आफूलाई शल्यक्रियाका लागि मंसिर १९ गते बोलाएर अझै शल्यक्रिया नभएको भन्दै गुनासो पोखे । कारण सोध्दा कुनै जवाफ नदिने गरेको उनको गुनासो थियो ।
अस्पताल पुग्दा त्यहाँ बेथितिले सीमा नाघेको पाईएको जोशीले बताए । चिकित्सक तथा अन्य कर्मचारीहरु समयमै अस्पताल नपुग्ने, चिकित्सकहरु समयमै राउण्डमा नजाने, बारम्बार बिरामीलाई बोलाएर समयमै शल्यक्रिया नगर्ने जस्ता अनगिन्ती समस्याहरु देखिएको उनले बताए ।
‘१५-२० दिनदेखि व्यापक रुपमा जनगुनासो आइरहेको थियो । आज म त्यहाँ पुग्दा यती गुनासो आयो कि भनी साध्य छैन । गुनासो पोख्ने ठाउँ जस्तो गरेर बिरामी र कुरुवाहरुले गुनासो माथि गुनासो राख्नुभयो । कुरुवाले नै अस्पतालको सबै कक्ष घुमाएर कहाँ के समस्या छ भन्दै गुनासो गरे । त्यहाँको अवस्था हेर्दा साह्रै चिन्ता लाग्यो । बेथितिले सीमा नाघेको रहेछ’, जोशीले भने ।
उनले अघि भने, ‘टा-टाढाबाट बिरामीलाई बोलाएर डाक्टर समयमा नआउने, कार्यालय समयमा नआईपुग्ने । उपचार समयमा नभएपछि होटलमा बस्न पर्दा आर्थिक भारको अवस्था उस्तै । फजुल खर्च बढेको छ । बिरामी आएर बसेको तीन-चार दिन भइसक्यो अझै अप्रेसन भएको छैन । साह्रै चिन्ता लाग्यो ।’
विपन्न नागरिक औषधि उपचार केन्द्रबाट सेवा लिन पनि काजगी झन्झट रहेको भन्दै यसलाई सहज बनाउनुपर्नेमा उनले जोड दिए । प्रयोगशालाले सबै परीक्षण नगरेर बाहिर पठाउने गरेको समेत पाईएको उनले बताए । अस्पतालको बीमा पनि झन्झटिलो रहेको उनले बताए । अस्पतालको सेवामा तत्काल सुधारको आवश्यकता देखिएको उनको भनाइ छ । यसका लागि तिनै तहका सरकार गम्भीर हुनुपर्ने उनले बताए ।
बिरामीको गुनासो सुनेपछि सांसद जोशीले अस्पतालका कार्यबाहक निर्देशक कृष्णसागर शर्मा, प्रमुख प्रशासकीय अधिकृत गृहनारायण महतो, पूर्व निर्देशक विजय आचार्यलाई भेटेका थिए । भेटका क्रममा हाल जिल्ला बाहिर रहेका अस्पतालका अध्यक्ष र निर्देशक फर्किए लगत्तै बैठक बोलाउन भनिएको उनले बताए ।
‘अध्यक्ष र निर्देशक काठमाडौं जानु भएको भएर भेट हुन सकेन । मैले उहाँहरु फर्किए लगत्तै स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायसहित बसेर छलफल गरी सेवा सुधार गर्नुपर्छ भनेको छु’, जोशीले भने ।