चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा दुर्लभ एकसिंगे गैंडा मृत अवस्थामा फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार एउटा गैंडा बुधबार अमलटारी सेक्टरको कुजौली रेञ्जपोष्ट अन्तर्गत नदी किनारमा फेला परेको हो ।
करिब छ महिनाको भाले गैंडालाई निकुञ्जको नियमित गस्ती टोलीले बिहान ११ बजे मृत अवस्थामा भेटेको उनले बताए । उक्त गैंडाको खाग नपलाएको र बाघको आक्रमणबाट मरेको हुन सक्ने उनले बताए ।
त्यस्तै आज बिहान ५ः५५ बजेको समयमा अर्काे एउटा गैंडा अमलटारी सेक्टरकै लामिचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा मृत फेला परेको हो । करिब १५ वर्षको पोथी गैंडालाई गस्ती टोलीले मृत फेला पारेको उनले बताए ।
उक्त गैंडा आपसमा जुधेर मरेको हुन सक्ने उनको भनाइ छ । उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ । यससँगै चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मर्ने गैंडाको संख्या ५ पुगेको छ ।