चितवन । घाँसदाउराका लागि चितवन राष्ट्रिय निकुञ्जभित्र जाँदा हराइरहेका माडी धोबाहाका बृद्ध सकुशल भेटिएका छन् ।
माडी-३, धोबाहा निवासी ७८ बर्षका बृद्ध पाहुन महतो निकुञ्जभित्र राप्ती नदी नजिकै टाइगर टप्स क्षेत्रमा भेटिनुभएको हो । उहाँलाई माडी-१, पाण्डवनगर निवासी रतिया बोटले माछा मार्न जाने क्रममा जंगलभित्र भेटेर पाण्डवनगर गाउँमा ल्याउनुभयो।
३ दिनसम्म जंगलभित्रै हराएका महतो कमजोर र थकित अवस्थामै भएपनि सकुशल भेटिएसंगै गाउँलेहरु खुसी हुँदै जुस र खाना खुवाएका छन् ।घाँसदाउराका लागि रीउ नदी पार गरी निकुञ्ज छेउको घाँसे मैदानमा जानुभएका महतो आइतबार साँझदेखि सम्पर्कबिहीन रहनुभएको थियो ।
उहाँको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरुले सामुहिक प्रयास गरेका थिए । महतोलाई घरमा ल्याउन उहाँका परिवार सदस्यहरु पाँचपाण्डव पुगेको स्थानीयबासी कृष्ण बहादुर पोखरेलले जानकारी दिनुभयो ।