चितवन। चितवनकाे भरतपुर–२, आपँटारीमा रहेको जलदेवी सामुदायिक वन उपभोक्ता समूहले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद रवि लामिछानेले सामुदायिक वनको मर्म र भावनाविपरीत आफ्ना समर्थनका युट्युवर र सामाजिक सञ्जालका प्रयोगकर्तालाई साथमा लिई पार्कभित्र प्रवेश गरी पदीय मर्यादाविपरीत कार्य गरेकोमा आपत्ति जनाएको छ ।
उपभोक्ता समूहले सांसदको गरिमामय पदको दुरुपयोग नगर्न, हस्तान्तरित वनको संरक्षण र सम्बर्द्धन गरिरहेका संघसंस्थालाई नतर्साउन र सांसदले गर्नुपर्ने काम कर्तव्य नभुल्न अनुरोध गर्दै सो गैरकानुनी कार्यको भत्सर्ना गरेको छ ।
जलदेवी पार्कभित्र हावाहुरीले ढलेका रुख, हाँगा भाँचिएको साथै विद्युत् हाइटेन्सन मुनिबाट फँडानी गरेको काठ सोही ठाउँमा छाड्दा चोरी भई हराउने सम्भावना भएकोले उक्त काठलाई संरक्षण गरी पार्कको विकास र विस्तार गर्ने प्रस्तावनाअनुसार पुराना कला सँस्कृतिको संरक्षण गर्ने उद्देश्यले राखिएको काठको विषयमा अनाबश्यक लाञ्छना सार्वजनिक गरिएको विषयमा समूहले गम्भीर आपत्ति जनाएको हो ।
समूहले जारी गरेको विज्ञप्तिमा उक्त काठ ढिकी, रोटेपिङ, जाँतेपिङ, हलो, जुवा, कोल, काठेपुल, वन्यजन्तु संरक्षण गर्ने खोरजस्ता निर्माणका लागि चिरान गरी राखेको तर चाडवाड र लगत्तै मंसिर ४ गतेको निर्वाचनका कारण काम गर्न केही ढिलाइ भएकोले डिभिजन वन कार्यालयलाई पठाउन लगत उठाइएको अवस्थामा सांसद लामिछानेसहितको समूहले पार्कभित्र प्रवेश गरी पदीय मर्यादाविपरीत कार्य गरेको आरोप लगाएको हो ।
सांसद लामिछाने केही दिन अघि युट्युवललायतका केही मिडियाका प्रतिनिधि बोकेर उक्त सामुदायिक वनको कार्यालयमा पुगेर जिल्ला वनले गर्नुपर्ने केरकार आफैले गरेका थिए ।