चितवन । चितवन प्रहरीले पार्किङ गरिराखेको स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले चोरीका पाँच मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरी चोरी तथा डाँका कसुरमा अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने १८ वर्षीय होम कुमार गुरुङ, ३७ वर्षीय सुनिल मगर, नवलपरासी (सुस्ता पूर्व) बुलिङटार गाउँपालिका–५ घर भई हाल कावासोती नगरपालिका–२ मा डेरा गरी बस्ने २४ वर्षीय यम कुमार थापा मगर, कावासोती–४ बस्ने २७ वर्षीय यम बहादुर सारु मगर र गैंडाकोट नगरपालिका–११ बस्ने २६ वर्षीय लाल कुमार आले रहेका छन् ।
जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका घटना दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले सादा पोसाकमा प्रहरी खटाएको थियो ।
यहि क्रममा मंसिर २५ गते साँझ ७ः४५ बजेको समयमा भरतपुर–२ मा सुनिल मगरले चलाएको ना ५१ प ५८१७ नम्बरको सेतो रङको एनएस मोटरसाइकल पछाडि सवार होम कुमार गुरूङले पार्किङ गरी राखिएको प्रदेश०३–०३–००१ प ७३०२ नम्बरको रातो÷कालो २२० सिसिको पल्सर मोटरसाइकल चोरी गर्ने प्रयास गरेका थिए । उनीहरुले लक तोड्ने औजारले मोटरसाइकले लक फोड्ने क्रममा तत्कालै प्रहरीले पक्राउ गरेको थियो ।
घटनाको विषयमा सोधपुछ गर्ने क्रममा मोटरसाइकल चोरीमा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको पाइएपछि कुमार थापा मगर, यम बहादुर सारु मगर र लाल कुमार आले समेतलाई तत्काल नारायणघाट पुल्चोकबाट पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनीहरुले विभिन्न मितिमा चोरी गरी विभिन्न ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा प्रदेश २–०३–००१ प ५८६४ नम्बरको सेतो कलरको डुक कम्पनिको मोटरसाइकल, प्र३–०२–००८प ०३९८ नम्बरको रातो कलरको एनएस मोटरसाइकल र लु ४४ प ७७४२ नम्बरको निलो कलरको २२० सिसि को पल्सर मोटरसाइकल गरी जम्मा ५ वटा मोटरसाइल नियन्त्रणमा लिइएको उनले बताए । उनीहरु विरुद्ध चितवन जिल्ला अदालतबाट मंसिर २६ गते म्याद थपको अनुमति लिएर अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।