तनहुँ। तनहुँ प्रहरीले धमाधम फरार प्रतिवादीलाई पक्राउ गर्न थालेको छ । भदौ सुरु भएपछि मात्रै आठजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
अंश-जारी मुद्दामा १३ वर्षदेखि फरारसहित जुवा मुद्दा, लेनदेन मुद्दा र सवारी ज्यान मुद्दाका फरार १÷१ जनालाई पक्राउ गरिएको छ । सार्वजनिक अपराध मुद्दामा फरार रहेका २ जनासमेत पक्राउ परेका छन् ।
लागूऔषध चरेस मुद्दामा एक वर्षदेखि फरार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का दिपक राई बुधबार पक्राउ परेका छन् । डिएसपी युवराज तिमिल्सिनाका अनुसार राई २५ कात्तिक २०७६ देखि फरार थिए ।
चरेस मुद्दामै फरार गोरखाको पालुङटार नगरपालिका–१ का सुरेश तामाङ मंगलबार मात्र पक्राउ परेका थिए । पक्राउ परेका दुवैलाई बुधबार अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
तामाङले दुई महिना कैद र ५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ, भने दिपकले एक महिना कैद भुक्तान गर्न बाँकी रहेको तिमिल्सिनाले जानकारी दिए ।