पोखरा । पोखरामा पर्वतीय महोत्सव सुरु भएको छ । पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव आयोजना भएको हो । महोत्सवको उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गरे । उनले पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेकोले हिमालय क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले पर्यटन विकासका लागि रणनीति र कार्ययोजना बनाउन सुझाव दिएका छन् ।
पर्वतीय पर्यटनले हिमाली क्षेत्रका भाषा, संस्कार र संस्कृति बुझाउन सहयोग गर्ने र त्यसको प्रबद्र्धनमा यस्ता महोत्सवहरु महत्वपूर्ण हुने पुनले बताए । ‘हाम्रो पर्यटनको मेरुदण्डको रुपमा रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ । पर्वतीय पर्यटन केवल आरोहणमात्रै होइन, यो पर्वतीय क्षेत्रमा बसोबास गर्नेहरुको भाषा, संस्कार, संस्कृति तथा जीवन बुझ्ने र उनीहरुको आर्थिक–सामाजिक जीवनमा रुपान्तरण ल्याउन योगदान पुर्याउने माध्यम पनि हो,’ उनले भने ।
सोही अवसरमा ‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ र पोखरामा तीनवर्षमा दोब्बर पर्यटनक भित्र्याउने विषयमा छलफल कार्यक्रम पनि भएको छ । चारजना महिला आरोही वक्ताले पर्वतीय समस्याबारे जानकारी गराए । आरोही लाक्पा फुटी शेर्पा, पुर्णिमा श्रेष्ठ, फुन्जो लामा र फुरदिकी शेर्पाले वातावरण र हिमाल संरक्षणमा जोड दिनुपर्ने बताए । उनीहरुले जलवायु परिर्वतनका कारण हिमाल हिउँविहीन हुन लागेको बताए ।
आरोही पुर्णिमाले सरोकारवाला निकाय गम्भीर नबने सेताम्मे हिमालहरु कालो पत्थरको रुपमा परिणत हुने गुनासो गरिन् । संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवस ‘वुमन मुभ माउन्टेन्स्’को नारासहित मनाउने निर्णय गरेको छ ।