चितवन । माडी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय माडीकाे समन्वयमा माडी क्षेत्र अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई चेतनामूलक पाठ्यसामग्री पुस्तक हस्तान्तरण गरिएको छ ।
अन्तर्राष्ट्रिय लैंगिक हिंसा न्यूनीकरण दिवसको १६ दिने अभियानको अवसरमा विद्यालयको पाठ्य सामग्री सम्बन्धि अभिमुखीकरण तथा सहमति पत्रमा हस्ताक्षर भएको हो । लैंगिक हिंसा विरुद्धको अभियानलाई शुन्य सहनशीलता सहित अगाडि बढाउन पाठ्य सामग्री मार्फत विद्यालय, विधार्थी, अभिभावक तथा समुदायमा प्रभावकारी रूपमा प्रवाह गरी शान्तिपूर्ण र सुरक्षित समाज निर्माण अभियानमा सक्रिय सहभागिता जनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुग्ने कार्यक्रमका बक्ताहरुको भनाई थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका उपरिक्षक नवराज अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नगरप्रमुख तारा कुमारी काजी महतो रहनु भएको थियो । विशिष्ट अतिथिमा नगर उपप्रमुख खेम प्रसाद महतो, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।