चितवन । भरतपुरमा अबदेखि मासिक सात हजार लिटरसम्म खानेपानी प्रयोग गर्दा महशुल छूट हुने भएको छ । यहि मंसिर महिनादेखि लागू हुने गरी आज भरतपुरमा भरतपुर महानगरपालिका, खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिबीच सम्झौता भएको हो।
महानगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न र सहुलियतरूपमा उपलब्ध गराउनको लागि मंसिर महिनाबाट लागू हुने गरी छूट कार्यक्रम कार्यान्वयनमा ल्याइएको महानगर प्रमुख रेनु दाहालले बताइन्। उपभोक्ताबाट मासिक दश हजार लिटर खानेपानी उपभोग गर्नेलाई छूट दिनुपर्ने माग आए पनि हाललाई पालिकाभित्रको आन्तरिक स्रोतलाई ध्यानमा राख्दै सात हजार लिटरसम्मलाई छूट गरिएको उनले बताइन्। आगामी दिनमा छूट सुविधा बढाउँदै लैजान सकिने उनको भनाइ छ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भने आउँदो दुई वर्षभित्र भरतपुरका सबै उपभोक्ताले खानेपानीको सुविधा लिन पाउने गरी काम गरिरहेको बताए। बोर्डमार्फत भरतपुर महानगरपालिकाभित्र करिब ५० प्रतिशत उपभोक्ताले खानेपानीको सुविधा पाइसकेको बताउँदै बाँकी सुविधा पनि दुई वर्षभित्र पूरा गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए।