चितवन । खैरहनी नगरपालिकाको न्यायिक समिति अन्तर्गत रहेका मेलमिलापकर्ताहरुले मेलमिलाप केन्द्रमा आउने निवेदनहरुमध्य करिब ८० प्रतिशत समाधान हुने गरेको दावी गरेका छन् । मेलमिलापकर्ताहरुको आज भएको भेलामा बोल्ने मेलमिलाप केन्द्रका संयोजक तथा मेलमिलापकर्ताहरुले वडामा साधसिमाना जग्गा विवाद , लेनदेन र श्रीमान श्रीमतिबिचको विवाद धेरै आउने गरेको र अधिकांस विवाद वडामै समाधान हुने बताएका थिए ।
कार्यक्रमका सहभागीहरुले प्रत्येक वडामा आउने निवेदन पहिला नगरपालिकाको न्यायिक समितिमा दर्ता गराएर अनि बल्ल वडामा छलफल गराउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए । प्रत्येक वडा वडामा मेलमिलाप केन्द्रको समिति भएकाले नगर स्तरिय मेलमिलाप समितिको औचित्यमाथि सहभागीले प्रश्न उठाएका थिए । त्यस्तै कुनै कुनै विवादमा राजनितिक दवाव समेत आउने गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले समाजमा झै झगडा न्यूनिकरण तथा सामाजिक सद्भाव कायम गर्न मेलमिलाप कर्ताहरुको भूमिका उल्लेख्य रहेको बताए । मेलमिलाप कर्ता बनेर सेवा दिनु पनि एक किसिमको सामाजिक सेवा भएकाले हरेक सामाजिक सेवामा लागेकाले सुविधा कम पाउने गरेको भन्दै अत्यावश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताए । उनले मेलमिलापकर्ताहरु राजनितिक दवावमा आउन नहुने र राजनितिमा धेरै क्रियाशिल भएकाहरु मेलमिलाप केन्द्रमा मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वेद बहादुर अधिकारी , ७ का वडा अध्यक्ष मनेजर महतो र खैरहनी १३ का वडा अध्यक्ष कुल प्रसाल भुषालले समाजमा आउने सामान्य विवाद , झैझगडा दुवै पक्षलाई राखेर समाजमा नै मिलाउने मेलमिलापकर्ताहरुको कामको प्रशंशा गरेका थिए । उनीहरुले अब प्रविधिमैत्री हुदैं निवेदन, उजुरीहरु अनलाइन , इ मेल मार्फत समेत लिएर दर्ता गर्न सके सेवाग्राहीलाई सहज हुने बताए ।
खैरहनी नगरपालिकाकी उप्र प्रमुख तथा न्यायिक समिति संयोजक कविता उप्रेतीले खैरहनी नगरपालिकाभित्र सूचिकृत रहेका ८४ जना मेलमिलाप कर्ताहरुबाट सेवा दिदै आएको जानकारी दिइन् । उनले मेलमिलाप केन्द्रमा आउने निवेदन तथा उजुरी ३ महिनाभित्र फछुयौट गनुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताइन् ।