चितवन । नारायणी नदी किनारमा नारायणगढतर्फको खाल्डो पुर्न फोहोर प्रयोग गरेको विरोधमा वातावरण संरक्षणकर्मी तथा अभियन्ताले आज भरतपुर महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।
महोत्सव आयोजना गर्न खाल्डोमा १५० टेक्टर प्लाष्टिकजन्य फोहोर हालेर जमिन सम्याउने काम भएपछि अभियान्ताले त्यसको विरोध गरेका हुन् । लगातार विरोध गर्दा पनि फोहोर ननिकालेपछि अभियान्ताहरु सर्वाेच्च जाने तयारी गरेका छन् । नेपाल विकास समाजका कार्यक्रम संयोजक इन्जिनियर सागर कार्कीले केहिदिन भित्रै सर्वाेच्च अदालतमा रिट हाल्ने तयारी भइरहेको बताए ।
उवासंघ चितवनले पुष २५ गतेदेखि माघ ४ गतेसम्म १४औँ संस्करणको चितवन महोत्सव गर्दै छ । फोहोर गाडेकै स्थानमा गएर प्ले कार्ड प्रदर्शन गरिसकेका अभियन्ताले आन्दोलनको स्वरुप परिवतर्न गर्दै आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । यस अभियानमा बेटर चितवन, वे ग्रुप नेपाल, नेपाल विकास समाज र हाम्रो दृष्टि राम्रो दृष्टिका युवाहरु सहभागी छन् ।