चितवन – सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बिएफसी) ले शहीद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल्ने अन्तिम टोली घोषणा गरेको छ । बिएफसीले आज (बुधबार) विपिन मल्लको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।
बन्द प्रशिक्षणमा रहेका ३० जनाबाट प्रशिक्षक धुर्व भुसालले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । घोषित टोलीमा ३ गोलरक्षक, ६ डिफेन्डर र समान ५-५ जना मिडफिल्डर र स्ट्राइकर छन् ।
टोलीको गोलरक्षकमा आकाश बुढा, राजेश खड्का र अदित गुरुङ छन् । डिफेन्डरमा कप्तान विपिन मल्ल, अर्जुन बिष्ट, विशाल विक, विवेक मगर, राजन गुरुङ र निपेश गुरुङ तथा मिडफिल्डरमा रोजल दाहाल, अभिषेक चापागाई, सन्दीप सिन्चुरी, सुशान गुरुङ र सुरज मल्ल छन् ।
टोलीको स्ट्राईकरमा राज भुसाल, बिष्णु नेवार, अमित सुनार, सागर तमाङ र नुर्वल राना मगर छन् । सुरज केसी, ब्रजेश तमाङ, रोशन गुरुङ र बिक्रम थापा मगरले वैकल्पिक खेलाडीको रुपमा टोलीमा स्थान बनाएका छन् ।
बिएफसी चितवनबाट ‘सी’ डिभिजन छनौटमा प्रतिनिधित्व गर्ने एक मात्र टोली हो । छनौटका लागि टोली ८ गते काठमाडौं जानेछ । ‘सी’ डिभिजन लिग छनोटमा ७९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
मंगलबारसम्म टिम दर्ता गर्ने अन्तिम दिनसम्म ७९ टोली दर्ता भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सबैभन्दा धेरै बागमती प्रदेशबाट ६२ टोली दर्ता भएको छ । प्रदेश १ बाट ७ टोलीले छनौट खेल्नेछन् । २५ जिल्लाका विभिन्न क्लबहरुले ‘सी’ छनौटका लागि दर्ता गरेका छन् ।
‘सी’ छनौटको खेल तालिका विभाजन शुक्रबार एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुने एन्फाले जनाएको छ । प्रतियोगिता लिग कम नकआउट पद्दतिमा गर्ने योजना रहेको छ । ‘सी’ डिभिजन छनौट १० गतेबाट सुरु हुँदैछ । छनौटबाट तीन टोलीले ‘सी’ डिभिजनमा उक्लनेछ ।