चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रियता र स्वाभिमानको लागि एमालेले कसैसंग सम्झौता नगर्ने बताएका छन् ।
रत्ननगर नगरपालिका वडा नं ५ झुवानीमा आयोजना गरेको चुनावी कोण सभामा उनले राष्ट्रियता जोगाउने पार्टी एमाले मात्र भएको बताए । राष्ट्रियताको सवालमा एमाले पिल्लर हो उनले भने राष्ट्रियताको रक्षाको लागि हामी कसैंसंग सम्झौता गर्दैनौं । देउवा नेतृत्वको सरकार नागरिकता विधेयक जारी गरी गैर नेपालीलाई नागरिकता दिन लागेको भन्दै उनले त्यसका लागि एमालेको प्रतिबाद गरेको बताए ।
अनागरिक व्यक्तिलाई नागरिकता दिने गरी सरकारले ल्याएको नागरिकता विधेयकलाई एमालेले विफल बनाएको उनको भनाई छ । अर्को प्रसंगमा उनले एमाले भित्रको आन्तरिक विवाद समधान भइसकेको बताए । एमाले एकताबद्ध भइसकेको छ उनले भने एकताबद्ध भएर आम निर्वाचनमा पार्टीलाई जिताउन लाग्नुस ।
उनले नेपाली जनताको भावना बोकेको पार्टी एमाले भएकाले निसंकोच मतदान गर्न आग्रह गरे । देश बनाउने एमालेले हो उनले भने अहिले बहकिएर अरुलाई मतदान गरियो भने पाँच बर्ष पछुताउनु पर्छ । वर्तमान सरकारले कार्यशैलीका कारण देश अहिले सही मार्गमा नरहेको भन्दै नेता पाण्डेले मुलुकको रक्षाको लागि एमाले चाहिने बताए ।
राष्ट्रियताको सवाल र विकासको एजेण्डाको विषयमा एमालेसंग मात्र स्पष्ट भिजन छ उनले भने हामीसंग विकासको भिजनसंगै भिजन भएका नेताहरु पनि हुनुहुन्छ । कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले नेपालको नेतृत्वले मात्र नयाँ चितवन निर्माण गर्न सक्ने बताए ।
पूर्व अर्थमन्त्री समेत रहनु भएका पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको नेतृत्वमा हामीले चितवनलाई विकासको मोडलमा लैजाने योजना बनाएका छौं उनले भने चितवन बनाउन अब हामीलाई तपाईहरुको अमुल्य मत चाहिएको छ । अहिलेको पुरानो एमाले नभएको भन्दै उनले राष्ट्रियताको पक्षमा उभिने यो नयाँ एमाले हो । एमाले नेता जेगेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा वडा कमिटी अध्यक्ष कृष्ण महतोले सञ्चालन गरेको थिए ।