काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध आफूहरूले विद्रोह गरेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले ओलीको नाम नलिईकन कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनुपरेको बताए ।
सहिद रामवृक्ष यादवको २७औँ स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
“सम्पूर्ण उपलब्धिलाई धराशायी पार्ने एउटा प्रवृत्ति देखा पर्यो । जसलाई हामीले प्रतिगामी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारी प्रवृत्ति भन्यौँ । त्यो प्रवृत्ति कम्युनिस्ट पार्टीभित्रै देखा पर्यो । हाम्रो कोसिस थियो कि हामी कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरेर क्रान्तिकारी प्रवृत्तिलाई हावी गर्दै अरू शक्तिलाई पनि सच्याउने प्रक्रियाबाट जाने भन्ने थियो । तर, त्यस्तो भएन,” उनले भने, “कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति जो देखा पर्यो । हामीले त्यसका विरुद्ध संघर्ष गर्नुपर्यो । र, हामीले निर्ममतापूर्वक संघर्ष गर्नुपर्ने आवश्यक्ता महसुस गर्यौँ । विद्रोह गर्नैपर्ने स्थिति देख्यौँ । र, हामीले विद्रोह गर्यौँ ।”
अध्यक्ष प्रचण्डले आफैँभित्रको कमजोरीलाई हटाएर मुलुकको समृद्धि र समाजवाद निर्माणको यात्रालाई अघि बढाउन पार्टीका नेता–कार्यकर्तालाई आह्वान पनि गरे ।
नयाँ सन्दर्भमा कम्युनिस्ट क्रान्तिहरूलाई एकताबद्ध गर्दै लोकतान्त्रिक शक्तिहरूसँगको सहकार्यमा मुलुकलाई अघि बढाउनुपर्ने अवस्था आएकाले पार्टीले सोहीअनुसारको बाटो लिएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।