चितवन। चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले इच्छाकामना गाउँपालिकामा २५ शैयाको अस्पताल बनाउने वाचा गरेका छन् ।
घरदैलो अभियानका क्रममा इच्छाकामनाका मतदातालाई सम्वोधन गर्दै उनले यस्तो वाचा गरेका हुन् ।
इच्छाकामनामा अस्पताल नहुँदा स्वास्थ्य सेवा लिन जनतालाई निकै कष्ट हुने गरेको कुरा आफूले अनुभुति गरेको बताउँदै उनले अब त्यो कष्ट हटाउने जिम्मा आफ्नो भएको बताए ।
विकट भूभागले ओगटेको इच्छाकामनाका बासिन्दाहरु सामान्य स्वास्थ्य समस्या हुँदा पनि भरतपुर तथा टाँडी नै पुग्नुपर्ने बाध्यता छ ।
विशेषज्ञ सेवासहितको अस्पताल निर्माण गरी गरिब जनताले निशुल्क उपचार गर्न पाउने व्यवस्था मिलाउने उनले दाबी गरेका छन् । गरिब चेपाङहरुलाई निशुल्क उपचारको प्रबन्ध मिलाइदिने उनको वाचा छ । स्वास्थ्य समस्यासँगै इच्छाकामनाका आम समस्या समाधान गर्न आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन उनले अपिल गरेका छन् ।