चितवन। राजनीति भन्ने चिज बडो निर्मम हुँदो रहेछ भन्ने तथ्य फेरि एकपटक पुष्टि भएको छ ।
दुई वर्षअघिसम्म नेपालमा कोरोना महामारीको चपेटामा थियो । सर्वसाधारण जनताले उपचारमात्र होइन, परीक्षणसमेत भनेको समयमा नपाउँदा अवस्था निकै भयावह भएको थियो । सरकारी अस्पतालमा उपचार गर्ने ठाउँ थिएन ।निजी अस्पताल पनि भरिभराउ थिए । त्यसबेला रवि लामिछाने ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनको तयारीमा थिए । उनले न्युज २४ छाडिसकेका थिए ।
रविले बालाजुस्थित जनमैत्री अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न सहज बनाउने भन्दै नेतृत्व लिए । जनमैत्री अस्पताल नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठको स्वामित्वमा रहेको छ ।सर्वसाधारण जनताको उपचारमा सहजता होस्, कसैको पनि अकालमा ज्यान नजाओस् भनेर श्रेष्ठले रविलाई निःशुल्क अस्पताल चलाउन दिए । श्रेष्ठ शिक्षासेवीका साथै समाजसेवाी पनि हुन् ।
जनमैत्री अस्पतालमा अक्सिजनसहितको सेवा सहज ढंगले केही समय उपलब्ध भएपछि रविको हाईहाई भयो । जनतामा उनको समाजसेवाको प्रभाव पर्यो । तर रविले भने अस्पताललाई दुरुपयोग गरे ।अक्सिजन सेवा उपलब्ध गराउने नाममा उनले धेरै पैसा असुलेको त्यतिबेलै समाचार आएको थियो । अहिले तिनै रवि चितवन २ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठसँग प्रतिस्पर्धा गरिरहेका छन् । रविले चितवन ३ मा आफू उठ्ने भन्दै धेरै अघिदेखि प्रचार प्रसार गरेका थिए ।
नेता श्रेष्ठलाई पनि सहयोग गर्न भनेका थिए । तर, अन्तिम समयमा आएर रविले श्रेष्ठमाथि ठूलो घात गरे । अर्थात् ससुरा उद्धव पौड्यालका साथी विक्रम पाण्डेलाई जिताउन उनले चितवन ३ छाडेर अन्तिममा चितवन २ मा उम्मेदवारी दर्ता गरे ।रविको यो छलकपटप्रति नेता श्रेष्ठ आश्चर्यमा परेका छन् । चितवन २ मा उम्मेदवारी दर्ता गरेपछि रविले फोनसमेत नउठाएको बुझिएको छ । अहिले कांग्रेस नेता श्रेष्ठ रविको त्यो घात सम्झेर अबदेखि कसैलाई पनि त्यत्तिकै विश्वास गर्न नहुने निष्कर्षमा पुगेका छन् ।
चितवन २ मा श्रेष्ठ, लामिछानेका साथै एमालेका कृष्णभक्त पोखरेल पनि उम्मेदवार बनेका छन् । लामिछाने जुनसुकै हालतमा जित चाहन्छन् । तर धरातलीय अंकगणितलाई हेर्ने हो भने श्रेष्ठले सजिलै चुनाव जित्ने बताइन्छ |