चितवन । रवि लामिछानेको चुनाव प्रचारप्रसार आचारसंहिता विपरित भएको पाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अंकिट टोपी फेला परेको हो ।
टोपी फेला परेपछि मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सचेत गराएका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार उमेद्वार वा दलको चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, भेस्ट, लोगो, व्याचलगायतका सामग्री वितरण वा प्रयोग गर्न पाइँदैन । आचारसंहिताविपरीत दलको चुनाव चिन्ह अंकित टोपी प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत थापाले लामिछानेलाई पत्राचार गरी सचेत गराएका थिए ।
एकपटक सचेत गराएपछि पुनः कतै यस्ता गतिविधि भएको पाइए कारबाही गरिने थापाको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएपछि रवि लामिछानेले सार्वजनिकरुपमा अपिल गर्दै निर्वाचन आचारसंहितालाई ध्यान दिन आग्रह गरेका छन् । आफूलाई केही थाहै नभए जसरी उनले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता र निर्वाचन आयोगले तोकेको सबै नियमको पालना गर्न आफ्ना कार्यकर्ता एवम् शुभेच्छुकलाई आग्रह गरेका हुन् ।
लामिछानेसँगै नेकपा एमालेका कृष्णभक्त पोखरेल र गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ चुनावी मैदानमा छन् । यी तीन उम्मेद्वारसहित चितवन क्षेत्र नम्बर ३ मा १६ जना उम्मेद्वाहरु चुनावी प्रतिस्पर्धामा छन् । तर चुनावमा यी तीन उम्मेद्वारबीच नै प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।