चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले चितवन २ मा १० हजार युवालाई रोजगार दिने घोषणा गरेका छन् ।
चुनाव प्रचार प्रसारका लागि घरदैलो गर्ने क्रममा उनले जनतासामु यस्तो वाचा गरेका हुन् । उनले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरु भित्र्याएर, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर हजारौं रोजगारी सृजना गर्ने बताए । इच्छाकामनाका पहाडहरुमा लघुउद्यम सञ्चालन गरेर यहाँको समग्र आर्थिक विकास र रोजगार सृजना गर्ने उनको प्रतिवद्धता छ ।
महिलाहरुलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने, युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिने र विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण बनाउने उनको वाचा छ ।
आफूलाई निर्वाचनमा रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउन जनताहरु समक्ष अपिल गर्दै श्रेष्ठले घरदैलो गरिरहेका छन् । चुनावपछि लोकतान्त्रिक बामगठबन्धनकै सरकार बन्ने दाबी गर्दै उनले आफू पुनः मन्त्रि बन्ने संभावना रहेको दाबी गरे ।
मन्त्री भएपछि यो क्षेत्रमा ठूलाठूला योजना भित्र्याउन सहज हुने भएकाले आफूलाई जिताउन उनले अपिल गरेका छन् ।