साउन ३१ ,चितवन । जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट जारी गरिने निशेधाज्ञालाई केही कडाई गर्दै १० दिन निशेधाज्ञा थप गरेको छ । दैनिक रुपमा कोरोना संक्रमण भीडभाडकै कारण बढेको देखिएकोले प्रशासनले निषेधाज्ञामा कडाई गरेको हो ।
प्रशासनले आज आदेश जारी गर्दै भाद्र १० गते राति १२ बजेसम्म निशेधाज्ञा लम्बाउने निर्णय गरेको हो । जारी निशेधाज्ञा साउन ३२ गते १२ बजे सकिदैछ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा जारी आदेश अनुसार भाद्र १ गते मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालयको अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक अन्य नियमित सेवा प्रवाह बन्द गरिएको छ । तर संक्रमणदर कम नभए अन्य भीडभाड हुने क्षेत्र पनि क्रमश बन्द गराउंँदै लगिने प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराईले जनमानसबाट र सर्वपक्षीयको सुझाव अनुसार भीडभाड हुने यी सरकारी कार्यालय बन्द गरिएको जानकारी दिए । ‘सबैतिरबाट यी भीड हुने कार्यालय बन्द गर्नुपर्ने सुझाव आयो ,भट्टराईले भने , संक्रमणदर कम नभए यही बीचमा आदेश संशोधन गर्न पनि सकिन्छ ।’ यी कार्यालय बाहेक अन्य कार्यालय भीड नदेखिएको र स्वास्थ्य मापदण्ड प्रयोग गरी सञ्चालन गर्न सुझाव दिईएकोले सोही अनुसार सेवा प्रयोग गर्नुपर्ने उनले बताए ।
स्थानीय तह, वडा कार्यालयहरुको हकमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्नुपर्नेछ ।सार्वजनिक यातायातको हकम जोर विजोर प्रणाली लागु गर्दै सवारीसाधन निसंक्रमित गर्दै भौतिक दुरी कायम गर्दै सीट क्षमता भन्दा यात्रु नराख्ने, मास्क नलगाउने यात्रुलाई सवारीसाधन चढ्न निशेध गर्नुपर्ने आदेशमा उल्लेख छ । अन्य नियम जारी निशेधाज्ञाका अनुसार नै सञ्चालन हुने आदेशमा उल्लेख छ ।