चितवन। आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनका एक सय दुई जना कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार कारागार कार्यालयका रहेका एक सय दुई जना कैदीबन्दीको नाम मतदाता नामावलीमा छ । उनीहरुले कारागारबाटै मतदान गर्न पाउने गरी अस्थायी मतदान केन्द्रको व्यवस्था गरिने निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।
उनका अनुसार निर्वाचनमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । उनीहरुका लागि मातपोत कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको कार्कीले जानकारी दिए । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउनेछन् ।
निर्वाचनका लागि चितवनमा मतपत्रलगायतका निर्वाचनमा आवश्यक सबै सामग्री आइपुगेको छ । प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको प्रत्यक्ष र समानुपातिकको मतपत्रलगायत आवश्यक सामाग्री आईपुगेको कार्कीले बताए ।
उनका अनुसार चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । मतदाता संख्या भन्दा पाँच प्रतिशत बढी मतपत्र आएको छ । मतपत्र लगायातका सबै सामाग्रीहरु मंसिर १ गते मतदान केन्द्रमा पठाईने उनले बताए ।