काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिप्रति नेता भीमबहादुर रावलले आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले ओलीको भनाइप्रति आपत्ति जनाएका हुन् ।
बुढो भइसकेका भन्दै रावललाई उम्मेदवार नबनाएको भन्ने ओलीको जवाफप्रति लक्षित गर्दै रावलले ओली आफूभन्दा झन् बुढो हुँदा पनि उम्मेदवार किन बनेको भनेर प्रश्न गरेका छन् ।
रावलले लेखेका छन्, ‘कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीको उत्तेजित भाषणको ‘भीम रावलको तपाईंलाई किन चिन्ता, ४८ सालदेखि एकछिन मुख खाली छैन, बुढो भइसक्नुभयो, बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ’ भन्ने अंशले उहाँभित्र बलिरहेको क्रोध, द्वेषपूर्ण दुर्भाव उदाङ्गो हुन्छ । बदला, निषेध र उहाँको भनाइले यस्ता प्रश्न स्वतः उठ्छन् :
१) मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’को लागि मुख किन वाउनुभएको त ?
२) म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ?
३) हो, अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ तर अरुलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागू नहुने त ?
४) ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तिनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रूपमा अपमान हुने गरी बोल्नुभएको रहेछ । स्मरण होस्, अछाम जिल्ला लगायत देशका विभिन्न भागमा ब्राह्मण र क्षेत्री गरी थुप्रै ओलीहरू पनि छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री नि नबनाउने त ?
५) पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ ।’