चितवन । नेपाली काँग्रेसबाट कारबाहीमा परेका चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालाले भोलि गर्न लागेको चियापान कार्यक्रमले चितवन काँग्रेसमा हलचल ल्याएको छ । उद्योग बाणिज्य संघ चितवनको सभाहलमा भोलि दिउसोका लागि कोइरालाको निमन्त्राणमा चियापान कार्यक्रमको आयोजना गरिएको भन्दै सामाजिक सञ्जाल मार्फत सूचना प्रवाह भएपछि चितवन काँग्रेसमा हलचल ल्याएको हो ।
जिल्ला सभापति राजेश्वर खनालले आज एक बिज्ञप्ती जारी गर्दै चियापान र भेटघाटको कार्यक्रम प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । काँग्रेसको विधान अनुसार पार्टी संरचनामा नरहेका विभिन्न व्यक्तिहरुबाट भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरिएको भनि समाजिक सञ्जालबाट सूचना आएको प्रति पार्टीको ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।
सभापति खनालले जारी गरेकाे बिज्ञप्तिमा विकास काेइराला पूर्व सभापति समेत नरहेकाे उल्लेख छ । पार्टी कार्यालयमा रहेकाे रेकर्डमा पूर्वसभापतिकाे रुपमा विकास काेइरालाकाे नाम नरहेकाे प्रष्ट पारिएकाे छ ।
कोइरालासँगै कृष्णलाल सापकोटाको नाम पनि पूर्व सभापतिको सुचिमा छैन । गत स्थानीय तहको निर्वाचनमा पार्टीले गरेको गठबन्धनको उम्मेदवारविरुद्ध बागी उठेका जगन्नाथ पौडेलको समर्थक बसेका सापकोटालाई पार्टीले कारबाही गरेको थियो ।