चितवन । प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डा. भाेजराज अधिकारीले निकुञ्ज ऐन संशोधन गरेर जनताको संरक्षण गर्ने बताएका छन् । उनलेे वन्यजन्तु र मानवबीचमा हुने द्वन्द्व न्युनीकरण गर्न नीतिगत सुधार गर्ने बताए ।
चितवन ३ (२) अन्तर्गत माडी क्षेत्रमा भएको चुनाव केन्द्रित छलफलमा डा. अधिकारीले वन्यजन्तु वनमै र मानव समुदाय घरमै रमाउने गरि याेजना बनाईने बताएका छन् । `जनावरलाई वनमा सुरक्षित हुने र हामीलाई घर वरपर सुरक्षित हुने गरि मैले नीति निर्माण गर्छु´, अधिकारीले भने- `यहाँको जनजीविका सुधारका लागि पनि काम गर्ने मन छ । यहाँको आवश्यकतालाई महशुस गर्दै प्रदेश स्तरीय विशिष्टिकृत अस्पताल बनाउने चाहना छ ।´ बघाैंडा अस्पताललाई ५० शैयाकाे विशेष सुविधासहित विस्तार गर्ने पनि उनलेे प्रतिबद्धता व्यक्त गरे ।
चितवन ३ (२) मा माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद ढकालले माडीमा बाँकी रहेका विकास निर्माणका आयाेजनालाई अघि बढाउने बताए । `मुल सडकदेखि भित्री सडक केही मात्रामा कालोपत्रे गर्ने क्रम मैले सुभारम्भ गरेँ´, उनलेे भने- `पुल निर्माण सम्पन्नदेखि भित्री सडक पूर्वाधार कालोपत्रे गर्ने जिम्मेवारी सहित मलाई निर्वाचित गराउनुहोस् ।´ माडीमा रहेका बेला गठबन्धनका उम्मेदवारहरूले सहिद परिवारसँग पनि भेटघाट गरेका थिए ।