चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धन मुलुकको हितमा नरहेको बताएका छन् ।
गठबन्धनको कुनै पनि उद्देश्य नरहेको भन्दै उनले यो निर्वाचनका लागि मात्र भएको बताए । मंगलबार राप्तीमा कार्यकर्ता भेटघाटको क्रममा उनले गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने बताए । यो गठबन्धन निर्वाचन सम्मका लागि हो उनले भने देश बनाउन गरिएको गठबन्धन होइन । बिना उद्देश्यले गरिएको गठबन्धनले देश विकास नहुने उनको भनाई छ ।
गठबन्धनमा रहेको पाँचवटै दलको छुट्टाछुट्टै उद्देश्य रहेकाले निर्वाचन लगत्तै गठबन्धन टुट्ने उनको दावी छ । एमालेले निर्वाचन जित्छ उनले भने त्यसपछि गठबन्धनमा खैलाबैला भएर भताभुङ्ग हुन्छ । उनीहरु बीच नै प्रतिस्पर्धा र लडाइँ हुनेछ र चुनावमा अगाडि सारेका कबुलहरु सबै अलपत्र पर्नेछन् उनले भने कुन पार्टीको कबुल मान्ने ? हरेकको कबुल अलग–अलग छन् ।
एमाले देश निर्माणको उद्देश्यको साथ अगाडि बढेको उनले बताए । एमाले स्पष्ट ध्येयको साथ चुनावी मैदानमा उत्रिएको पनि उनले बताए ।
विगत आठबर्ष देखि आफू चितवन– १ को प्रतिनिधि रहेको र यस अवधिमा भएका विकासहरु जनताको अगाडि प्रष्ट भएको उनले बताएका छन् । यस क्षेत्र खोलाको जोखिम भएकोले तटबन्धमा नेकपा एमालेले अग्रणी भूमिका खेलेको उनको भनाइ छ ।