चितवन । चितवनमा आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाको लागि चितवनमा चार हजार सुरक्षाकर्मी खटाइँने भएको छ । निर्वाचनमा १९ सय ९१ जना म्यादी प्रहरी, ११ सय ४२ जना जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
निर्वाचनलाई भनेर भर्ना गरिएका म्यादी प्रहरीलाई मुख्य सडकका मुख्य चोकहरुमा खटाउन थालिएको छ । निर्वाचनका बेला मतदान स्थल र मतदान केन्द्रको भित्री घेरामा म्यादी प्रहरी र जनपथ हुनेछन् भने, त्यसबाहिरको सुरक्षा शशस्त्र प्रहरीले र त्यसभन्दा पनि बाहिर नेपाली सेनाको सुरक्षा रहनेछ । पर्याप्तमात्रामा सादा पोशाकका प्रहरी पनि खटिने प्रहरी प्रमुख अधिकारीले बताए ।
उनका अनुसार सम्वेदनशील ठाउँहरुमा सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहनेछ भने अन्यत्र भने सेना र सशस्त्र प्रहरी बलको टोलीले बाहिरबाट बेलाबेलामा अवस्था हेरेर सुरक्षा अवस्थाको जानकारी लिनेछ ।
चितवनका तीन वटा निर्वाचन क्षेत्रमा गरेर १६२ वटा मतदानस्थल र ४६० वटा मतदानस्थल रहनेछन् । २०७४ को निर्वाचनमा १६६ मतदानस्थल र ४०८ मतदान केन्द्र तोकिएका थिए ।