चितवन । माडीको परुई किनार र शिवद्वार क्षेत्रमा बसोबास गर्दै आएका चेपाङहरुले नदी तटबन्धन एवं नमुना बस्ती निर्माण लगायतका माग राखी माडी नगरपालिकालाई ८ बुँदे ज्ञापनपत्र पेश गरेका छन् ।
चेपाङ समुदायका तर्फबाट माडी नगरपालिकामा पेश भएको ज्ञापनपत्रमा परुई खोला र शिवद्वार क्षेत्रमा तटबन्ध निर्माणका लागि टेन्डर भएपनि हालसम्म निर्माण कार्य सुचारु नभएकाले तत्कालै निर्माण सुरु गराउन माग रहेको छ ।
त्यस्तै, दुबै स्थानलाई विपद् जोखिममुक्त, संरक्षण र संस्कृतिको नमुना बस्तीका रुपमा विकास गर्न “परियुखोला-शिवद्वार सुकुम्बासी व्यवस्थापन समिति” गठन गरी सामुदायिक शसक्तीकरणका कार्यक्रमहरु सञ्चालन हुनुपर्ने पनि माग गरिएको छ ।
त्यसैगरी नदी किनारमा फलफुल तथा बाँस प्रजातीका विरुवाहरुको बृक्षारोपण, बाटोको दुबै क्षेउमा पानीको निकास, सामुदायिक भवन निर्माण, बाल शिक्षा सञ्चालन, आयआर्जन विकास, शुद्ध पिउनेपानी र विद्युतीकरण लगायतका माग उठाइएको चेपाङ अगुवा कमल चेपाङले जानकारी दिनुभयो ।