चितवन। भरतपुर महानगरपालिका वडा नम्बर १० ले व्यवसायीहरुलाई फुटपाथ मिचेर व्यवसाय नगर्न अनुरोध गरेको छ । आज वडा अध्यक्ष सहितको टोलीले भरतपुरको चौबिसकोठी, अस्पताल रोड लगाएतमा व्यवसाय गरेर बस्ने व्यवसायीहरुलाई फुटपाथ मिचेर व्यवसाय नगर्न अनुरोध गरेको हो ।
वडा अध्यक्ष परमेश्वर खनाल सहितको नेतृत्वमा गएको टोलीले सटर वाहिर व्यवसाय गर्न नपाईने भन्दै व्यवसायीहरुलाई सटर बाहिर व्यवसाय नगर्न अनुरोध गरेको हो । नगर प्रहरीले यस अघि पनि सूचना दिईएको बताउँदै अब फेरी सूचना दिन नआउने जनाएको छ ।
भरतपुर महानगरपालिकाको मुटुको रुपमा रहेको भरतपुर १० लाई सुन्दर वनाउनका लागि कार्यालयले सरसफाई अभियान देखि बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको खनालले बताउनुभयो । अहिले सम्म भरतपुर महानगरपालिका वडा नम्बर १० बाट मात्रै ४१ वटा ठेला नियन्त्रणमा लिईएको छ । अब केही समयमा फुटपाथ व्यवसाय हटाउने उहाँले बताउनुभयो ।ट्राफिक व्यवस्थापनमा समस्या देखिएकाले यसको व्यवस्थापन गरेर वडालाई हराबरा बनाउने उहाँले बताउनुभयो ।