बिनिता रेग्मी
असोज १५, २०७९ –
चितवन । चौतारी साँझ २०७९ मा चार जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा मधुसुदन दवाडी, कृष्ण आचार्य, रविना पौडेल, र हैदल अली शाह रहेका छन् ।
चौतारी साँझको अवसरमा प्रेस चौतारी चितवनले ११ हजार १११ राशीको स्वर्गीय पत्रकार द्वारिका नेपाल स्मृति पुरस्कारबाट सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक मधुसुदन दवाडी पुरस्कृत भएका छन् ।
जोखिम पत्रकारिता पुरस्कारबाट पुरस्कृत नारायणी अनलाईनका सम्पादक कृष्ण आचार्य र प्राइम टाइम्स टेलिभिजनको चितवन संवाददाता रविना पौडेल पुरस्कृत भएका छन् । गतवर्ष देखी जोखिम पत्रकारीता पुरस्कार सुरु गरिएको थियो । गतबर्ष चितवन पोष्ट दैनिकका संवाददाता कुल काफ्ले र चितवन आजका प्रमुख संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ ले पुरस्कार प्राप्त गरेका थिए ।
त्यस्तै, चितवनमा पत्रकारिता विषय लिएर कक्षा १२ मा उत्कृष्ट अंक ल्याइ उत्तिर्ण भएका रौतहटका हैदल अली शाहलाई शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु जीवन शर्मा, बद्रि पंगेनी, एलिना चौहान, हास्य कलाकार राजा राजेन्द्र, कवि सुदेश सत्याल, नारायणी कला मन्दिरको विषेश सांस्कृतिक प्रस्तुतीका साथैं, चितवनको पहिचान थारु नाच र देउसी भैलोको कार्यक्रम राखिएको थियो ।