चितवन। यही मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि चितवनमा १ हजार ९९१ जना म्यादी प्रहरी छनौट भएका छन् । म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ३ हजार ८३० जनाले आवेदन दिएका थिए । उनीहरु मध्ये १ हजार ९९१ जना छनौट भएका हुन् ।
प्रहरी कार्यालयले छनौट भएका सबै एक हजार ९९१ जनाको नाम सार्वजनिक गरेको हो । असोज ९ देखि २२ गतेसम्म सञ्चालित शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण लिखित परीक्षा तथा अन्तर्वाताबाट उनीहरु छनौट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विजयराज पण्डितले बताउनु भयो ।
छनौट भएकाहरुलाई सक्कल नागरिकता र प्रवेशपत्रसहित असोज २७ गते बिहान ९ बजे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सूचित गरिएको उहाँले बताउनुभयो । छनौट भएका म्यादी प्रहरीलाई १० दिन तालिम दिएर कार्यक्षेत्रमा खटाईने उहाँले जानकारी दिनुभयो । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुनेछ । उनीहरुले प्रहरी जवान सरह सेवा सुविधा प्राप्त गर्नेछन् ।
छनोट भएका म्यादीहरुलाई तालिम पछि जिल्लाका तीन निर्वाचन क्षेत्रमा खटाईने कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो “निर्वाचनको सुरक्षाका लागि उनीहरुलाई परिचालन गरिने छ ।”